१९ चैत, काठमाडौँ । भन्सार बिभाग काठमाडौँका तत्कालीन एवं हाल अवकाश प्राप्त नायब सुब्बा रघुनाथ घिमिरे विरुद्ध दुई करोड रुपैयाँ भन्दा बढी बिगो माग दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर भएको छ ।
गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा छानबिन गर्दा घिमिरेको दुई करोड १४ लाख ४६ हजार रुपैयाँ सम्पत्तिको स्रोत नभेटिएकोले त्यही बराबर बिगो मागबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
Advertisement
२०५२ सालको कात्तिक २८ गते सरकारी सेवामा प्रवेश गरेका घिमिरेले भन्सार विभागमा कार्यरत रहेको अवस्थामा २०७५ फागुन १ गते राजीनामा दिएका थिए ।
घिमिरेले सेवामा रहँदा पाँच करोड २५ लाख १६ हजार तीन सय २७ रुपैयाँ आम्दानी गरेको र खर्च र सम्पत्ति जोड्दा सात करोड ३९ लाख ६२ हजार नौ सय ८४ रुपैयाँ रहेको पाइएकोले आम्दानीभन्दा बढी देखिएको सम्पत्तिलाई नै अख्तियारले गैरकानुनी सम्पत्तिका रूपमा किटान गरेको प्रवक्ता दाहालले जानकारी दिए ।
Advertisement
एयरर्पोट भन्सार, बिभिन्न भन्सार कार्यालय, राजश्व अनुसन्धान विभाग बसेर राजश्व हिनामिना गरी छल्ने काम गरेको आयोगले ठहर गरेको छ । उक्त गैरकानुनी रुपमा आर्जन गरेका रुपैँया परिवार, कम्पनी, व्यक्तिहरुको नाममा राखेको उजुरी आयोगले प्राप्त गरेपछि जाँच गर्दा दुई करोड रुपैयाँ भन्दा बढी पाइएको आयोगले जनाएको हो ।
गैरकानुनी रुपमा रुपैँया आर्जन गरेकोले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूरमा रु. दुई करोड चौध लाख छयालीस हजार छ सय सन्ताउन्न रुपैयाँ चौवीस पैसा विगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएवमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद तथा जरिवानाको सजाय हुने आयोगले जानकाएको छ ।
Advertisement
घिमिरेले जाँच अवधिमा गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति तथा श्रीमती शारदा गौतमको नाममा हाल कायम रहेको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र अपुग विगोको हकमा स्रोत खुलेको सम्पत्तिबाट साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, दफा १६ (ग), दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा २९ ख बमोजिम जफत / असुल उपर गरी पाउन मागदावी लिइएको छ ।
अख्तियारले सम्पत्ति रोक्का र बिगो जरिबाना असुलका लागि घिमिरेकी श्रीमती शारदा गौतमलाई पनि प्रतिवादी बनाएको छ ।
Advertisement
यस्तै, घिमिरेले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति श्रीमती शारदा गौतमको नाममा खरिद गरिएका जग्गा, घर निर्माण, कम्पनी लगानी, शेयर खरिद र बैंक खाताहरुमा रकम मौज्दात लगायतमा गरिएका खर्च वरावरको भागको स्रोत नखुलेको सम्पत्ति बिगो र त्यसबाट बढेबढाएको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ मात्र साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम शारदा गौतमलाई प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई निजको नाममा हाल कायम सम्पत्तिमध्येवाट बिगो जफत गरी पाउन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आयोगले आरोपपत्र दायर गरेको छ ।


















टिप्पणीहरू