८ माघ, बाँके । योगिनी कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण हुने भएको छ । योगिनी युवा क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता फागुनको अन्तिम सातामा हुने भएको हो ।
प्रतियोगिता खजुरा गाउँपालिका २ स्थित योगिनी उच्च मा.वि.को खेल मैदानमा हुनेछ । प्रतियोगिता आयोजना मिति र पुरस्कार रकमबारे क्लबको आगामी बैठकले निणर्य गर्ने आयोजकले जनाएको छ ।
Advertisement
गत शनिबार बसेको क्लबको बैठकले प्रतियोगिता आयोजनाको तयारी अगाडी बढाउने निणर्य गरेको योगिनी युवा क्लबका अध्यक्ष तरिन्द्र बहादुर थापाले बताए । उनले भने, ‘हामीले पहिलो संस्करण निकै उत्साहका साथ गरेको थियौं । कोभिडका कारण त्यसपछि दोस्रो संस्करण आयोजना गर्न सकिएको थिएन । अब अवस्था सहज भएपछि प्रतियोगिता गर्ने तयारी गरेका छौं । प्रतियोगितालाई सफल बनाउन सबैको सहयोग र साथको अपेक्षा गरेका छौं ।’
बाँके जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका क्लबहरुले सहभागिता जनाउने आयोजकले जानकारी दिएको हो । यसपटक प्रतियोगितामा करिब १५ क्लबको सहभागिता रहने क्लबका अध्यक्ष थापाले बताए ।
Advertisement
प्रतियोगितालाई व्यवस्थित तरिकाले अगाडी बढाउन योगिनी कप फुटबल प्रतियोगिता दोस्रो संस्करणको संयोजक र उप-संयोजक मनोनित गरिएको छ । प्रतियोगिताको संयोजकका रुपमा हरि बहादुर बुढाक्षेत्री र सह-संयोजकका रुपमा ईश्वरलाल खत्रीलाई क्लबको बैठकले मनोनित गरेको छ ।
यसैगरी आगामी बैठकले प्रतियोगिता आयोजनाको लागि विभिन्न उप-समिति बनाएर काम अगाडी बढाउने अध्यक्ष तरिन्द्र बहादुर थापाले बताए ।
Advertisement
नेपाल आईस योगिनी कप फुटबल प्रतियोगिताको पहिलो संस्करण २०७७ सालमा भएको थियो ।
पहिलो संस्करणको फाइनलमा चन्द्रज्योती युवा क्लबले आयोजक योगिनी-११ बी टिमलाई हराउँदै नगद ५१ हजार सहित उपाधि जितेको थियो ।
पहिलो संस्करणको सर्वोत्कृष्ट खेलाडी योगिनी युवा क्लबका याम बहादुर थापा,उदयीमान खेलाडी सुरज थापा क्षेत्री, उत्कृष्ट फरवार्ड याम बहादुर थापा, उत्कृष्ट मिड फिल्डर गोपाल थापा, उत्कृष्ट रक्षक राम ओली र उत्कृष्ट प्रशिक्षकको रुपमा विकास सिंह विक पुरस्कृत भएका थिए ।
टिप्पणीहरू