११ साउन, बाँके । बाँकेको जानकी गाँउपालिका-१ स्थित सिमानाका पाचपोखराबाट बुधबार प्रहरी चौकी साईगाँउले अबैध रुपमा नेपाल ल्याइएको सामान बरामद गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँके मातहत प्रहरी चौकी साईगाँउका इन्चार्ज प्रहरी नायव निरीक्षक विष्णु शाहीले उक्त सामान करिब ६ लाख बराबरको रहेको विभिन्न सञ्चारमाध्यमलाई जानकारी गराएका थिए ।
Advertisement
तर जिल्ला प्रहरी कार्यालय बाँकेले बिहीबार आफ्नो आधिकारिक फेसबुक मार्फत विवरण सार्वजनिक गर्दै उक्त सामान १ लाख १७ हजार नौ सय ७४ रुपैँया बराबरको रहेको जनाएको छ ।
बुधवार बिहान जिल्ला प्रहरी कार्यालयका सादा पोशाकका प्रहरी समेतको सहयोगमा रु ६ लाख बराबरको सामान बरामद गरेको बताइएको थियो ।
भारतबाट अवैध रुपमा भन्सार छलेर गैरकानुनी रुपमा नेपाल ल्याइएको कपडा, सुर्तिजन्य पदार्थ, कपडा, दुधको पाउडर, मोबिल बरामद गरी आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको ईन्चार्ज शाहीले बताएका थिए ।
Advertisement
तर प्रहरी चौकीले दिएको विवरण र जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको विवरणमा फराकिलो रकमले अन्तर देखिएको छ । करिब ५ लाख रुपैँयाले दुवै कार्यालयले उपलब्ध गराएको विवरणमा फरक देखिएको हो ।
ठुलो मात्रामा अवैध सामान बरामद भएको साईगाउँ चौकीको यो पहिलो सफलता रहेको समेत बताइएको छ । तर एकाएक पाँच लाख बराबरको सामान गायब हुँदा प्रहरी माथि संका समेत उत्पन्न भएको छ । प्रहरी चौकीले साउन ९ गते बुधबार सामान बरामद गरेको थियो । तर जिल्ला प्रहरी कार्यालय बाँकेले साउन १० गते बिहीबार उल्लेख गरेको छ ।
टिप्पणीहरू