२० माघ, बाँके । समुदायको समुन्नतिका लागि नागरिक समाज संगठित भएर अगाडि बढ्नुपर्नेमा आज नेपालगञ्जमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को आयोजनामा तथा गैरसरकारी संस्था महासंघ (एटिएन)को सहकार्यमा गरिएको समुदायस्तरमा नागरिक समाजको भूमिका विषयक छलफल कार्यक्रममा सहभागीहरूले यस्तो धारणा व्यक्त गरेका हुन् ।
कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ अकोराबका अध्यक्ष अर्जुन गिरीले नागरिकले हरेक सवालमा प्रश्न गर्न सक्नु नै नागरिकको जवाफदेहिता भएको बताए । उनले भने, “समुदायको आवाज सम्बन्धित ठाउँमा पुग्यो कि पुगेन, नागरिक समाजले भूमिका निभाउन सक्यो कि सकेन भन्ने विषय मिडियाले पनि उठान गर्न आवश्यक छ, जसले नागरिक समाजलाई अझ सबल बनाउन मद्दत पुर्याउँछ।”
Advertisement
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरेले देशमा भएका राजनीतिक आन्दोलन वा परिवर्तनका अभियानमा नागरिक समाजको भूमिका अग्रस्थानमा रहेको बताए । उनले समुदायमा एकता, सहकार्य र जनचेतनाको विकास आवश्यक रहेकोमा जोड दिएका छन् ।
त्यसैगरी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले नागरिक समाजले सामाजिक सवालमा निरन्तर खबरदारी गर्नुपर्ने र विकासका लागि सन्तुलित धारणा आवश्यक रहेको बताए । यसका लागि राजनीतिक आवरणभन्दा माथि उठ्नुपर्ने उनको भनाइ थियो ।
Advertisement
कार्यक्रममा गैरसरकारी संस्था महासंघ बाँकेका कार्यवाहक अध्यक्ष मन भण्डारीले विपद् वा अप्ठ्यारो परिस्थितिमा स्थानीय सरकारभन्दा पहिला नागरिक समाजले भूमिका निर्वाह गरेको उदाहरण प्रस्तुत गरे । उनले नागरिक समाजले स्थानीय सरकारलाई जवाफदेही बनाउन आवश्यक रहेको पनि बताए ।
भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) का कार्यकारी प्रमुख डम्मर सुनारले नागरिक समाज भन्नाले संघ–संस्था मात्र नभई हरेक नागरिकको असल जिम्मेवारीका रूपमा बुझ्नुपर्ने धारणा राखे ।
Advertisement
कार्यक्रममा अपाङ्गता क्षेत्रमा क्रियाशील अधिकारकर्मी टेकराज जैसी, युवा जनकबहादुर बस्नेत, युवा अधिकारकर्मी शाहिल अन्सारी, रामु चिडिमार, शाहिदा शाह, दिदीबहिनी समाज बाँकेकी अध्यक्ष रमादेवी शाह, रेडियो कृष्णसार एफएमकी स्टेशन म्यानेजर तथा क्रियाशील पत्रकार महिला बाँकेकी अध्यक्ष साबित्री गिरी, कोहलपुर एफएमका स्टेशन म्यानेजर हेमन्त विक, पत्रकार निशु जोशी तथा पत्रकार एवं सामाजिक अभियन्ता शाहिदा शाह लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो।कार्यक्रममा युवा पत्रकार अन्जना धितालले छलफलको प्रस्तुत गरेका थिए ।




















टिप्पणीहरू