२२ असार, बाँके । ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुनेछ । विजय बराल यो सिनेमाको मुख्य कलाकार हुन् । निर्माणपक्षले विजयलाई ‘एपिक नेचुरल स्टार’को ट्याग दिएको छ । छायांकन सकिएको यो चलचित्र अहिले पोस्टप्रोडक्सनमा छ । यो चलचित्रको छायांकन काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा गरिएको हो । चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।
बलियो लाइनअप देखिएको चलचित्रमा विजयसँगै अभिनेत्री केकी अधिकारी, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको पनि अभिनय रहेको छ ।
Advertisement
पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, नारायण तिमिसिना र चुडामणि सिवाकोटी रहेका छन् । थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।
चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मण राज पौडेल हुन् ।
Advertisement
गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ । अल टाइम ब्लक बस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’ पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो । विसं. २०८१ मा नेपाली चलचित्र उद्योगलाई ब्लकबस्टर सिनेमा दिने विजय र केकी ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को मुख्य भूमिकामा सँगै देखिँदै छन् ।
टिप्पणीहरू