३० जेठ, चितवन । यातायात कार्यालय भरतपुर, चितवनका कार्यालय सहायक ईन्द्रजित गुरुङ र बिचौलिया सुरज पाठकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा अनियमितता गरेको आरोपमा उनीहरूलाई आयोगको टंगालबाट खटिएको टोलीले शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
Advertisement
उक्त कार्यालयका प्रमुख एवं कर्मचारीहरू र महालक्ष्मी ड्राइभिङ सेन्टर, गुरुङ ड्राइभिङ सेन्टर र कुमार ड्राइभिङ सेन्टर लगायतको मिलेमतोमा भरतपुरबाट सञ्चालन भएको सवारी चालक अनुमति पत्रको परीक्षामा फेल भएका परीक्षार्थीहरूबाट १५ हजार देखि २५ हजार सम्म रकम लिएर लाइसेन्स दिएको उजुरी आयोगमा परेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी गराए ।
सोही विषयको अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिएको हो । आयोगको टोलीले गुरुङको कार्यकक्षबाट एक लाख ८५ हजार रुपैयाँ समेत बरामद गरेको छ । पाठकलाई भने यातायात व्यवस्था कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको प्रवक्ता पौडेलले जानकारी दिए ।
Advertisement
आयोगले कार्यालय प्रमुख विष्णु भट्टराई तथा अन्य कर्मचारीहरू र विभिन्न ड्राइभिङ सेन्टरका सञ्चालकहरूको विद्युतीय उपकरण मोबाइल (३१ थानभन्दा बढी), ल्यापटप २ थान र अन्य कागजात समेत नियन्त्रणमा लिएको छ ।
टिप्पणीहरू