२० जेठ, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीले सूचना संकलन एवम् पूर्वानुमानलाई संवेदनशील रूपमा लिएर विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न थप क्रियाशील भई कार्यसम्पादन गर्नुपर्ने बताएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित नेपाल प्रहरीको विपद् व्यवस्थापन पूर्व तयारीको निरीक्षण र निर्देशन सम्बोधन कार्यक्रममा गृहमन्त्री लेखकले यस्तो बताएका हुन । सो अवसरमा उनले विपद् व्यवस्थापन सम्बन्धी डेमो प्रदर्शन एवम् विपद् उद्दार सामाग्रीहरूको अवलोकन समेत गरेका थिए ।
Advertisement
कार्यक्रममा गृहमन्त्री लेखकले विपद् व्यवस्थापनमा विगतमा भएका कमी कमजोरीहरूको विश्लेषण गरी आगामी दिनमा त्रुटिरहित ढंगबाट कार्यसम्पदान गर्न प्रहरी कर्मचारीहरू सक्रिय हुनुपर्ने बताए । विपद् व्यवस्थापनमा स्थानीय तह एवम् अन्य सरोकारवाला निकायसँग समन्वय गरी जनताले महसुस गर्न सक्ने गरी उत्कृष्ट कार्य गर्न समेत उपस्थित प्रहरी अधिकृतहरूलाई उनले निर्देशन दिए ।
कार्यक्रममा निमित्त गृहसचिव जयनारायण आचार्यले विपद् व्यवस्थापनमा सूचना संकलन र आपसी समन्वय महत्वपूर्ण हुने चर्चा गर्दै नेपाल प्रहरीले अन्य सुरक्षा निकायहरूसँग आपसी समन्वय र सहकार्य गर्दै विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । आम नागरिकले संकटको बेला सुरक्षा निकायहरूलाई आशाको केन्द्रको रूपमा लिने हुनाले त्यस्तो परिस्थितिमा अत्यावश्यक सेवा प्रवाहमा थप संवेदनशील भई उच्च मनोबलका साथ कार्यसम्पदान गर्नुपर्ने उनले बताए । विगतका अनुभवहरूलाई विश्लेषण गरी विपद् व्यवस्थापनमा थप प्रभावकारी रूपमा परिचालित हुनुपर्नेमा उनले जोड दिए ।
Advertisement
कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले समाजमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण एवम् अनुसन्धान गर्न, ट्राफिक व्यवस्थापन र विपद् व्यवस्थापनमा नेपाल प्रहरीले आफ्नो क्षमता र उपलब्ध स्रोतसाधनको समुचित प्रयोग गरी कुशलतापूर्वक जिम्मेवारी वहन गर्दै आएको बताए । सबै किसिमका आपतकालिन घटनामा अग्रपंक्तिमा रहेर प्रहरीले बहुआयामिक भूमिका निर्वाह गर्दै आएको र निरन्तर गरिरहने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।
प्रहरी महानिरीक्षक थापाले विपद् व्यवस्थापनमा परिकल्पना भन्दा बाहिरका परिस्थिति र सुरक्षा चुनौति देखा पर्न सक्ने हुनाले पूर्व तयारीलाई पहिलो प्राथमिकतामा राखेर विपद्का सम्भावित चुनौतिहरूको पूर्व आकलन र ती चुनौतिहरूको सामना गर्न उपलब्ध जनशक्ति र स्रोतसाधनलाई तयारी हालतमा राखिएको बताए । साथै विपद् व्यवस्थापनमा स्थानीय तह एवम् अन्य सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य गरी उच्च मनोबलका साथ तयारी हालतमा रहन प्रहरी कर्मचारीहरूलाई उनले निर्देशन दिएका छन् ।
Advertisement
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशी, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले विपद् व्यवस्थापन पूर्व तयारी सम्बन्धी आ–आफ्नो प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा निमित्त सशस्त्र प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका सहसचिवहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितिका साथै ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, प्रदेश प्रहरी गणका प्रमुखहरू एवम् जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो ।
टिप्पणीहरू