९ जेठ, बाँके । मालपोत कार्यालय कोहलपुरको मुद्दाफाँटमा कार्यरत कर्मचारी सहित तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस सहित नियन्त्रणमा लिएको छ । मुद्दाफाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डे, लेखापढी व्यवसायी (विचौलिया) शान्ति पुन र घनश्याम तिवारीलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
तिवारी रेष्टुरेन्टमा घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले २० हजार घुस सहित पक्राउ गरेको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी गराए ।
Advertisement
उनका अनुसार खरिदार पाण्डे समेतले जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भनी लेखापढी व्यवसायी (विचौलिया)मार्फत सेवाग्राही सँग घुस मागे थिए ।
खरिदार पाण्डेलाई विचौलिया मार्फत सेवाग्राही सँग २० हजार घुस लिई तिवारी रेष्टुरेण्टका संचालक घनश्याम तिवारीलाई राख्न दिएको अवस्थामा उक्त रकमसहित निज खरिदार हरिचन्द्र पाण्डे, लेखापढी व्यवसायी पुन र तिवारीलाई कोहलपुर ११ स्थित तिवारी रेष्टुरेन्टबाट नियन्त्रणमा लिइएको हो ।
Advertisement
उनीहरुमाथी आवश्यक अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको हो ।
टिप्पणीहरू