७ जेठ, काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका राजनीतिक दल, सञ्चार क्षेत्र र नागरिक समाज मुलुकको विकास, समृद्धि र स्थायित्वको प्रश्नमा गम्भीर नभएको बताएका छन् ।
बुधबार बिहान प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपाल राष्ट्रलाई कहिल्यै बलियो हुन नदिने स्वार्थी तत्वको प्रभावमा हरेक दिन जसो यो सरकार ढल्छ भन्ने हल्ला फैलाउने गरिएको उनले बताए ।
Advertisement
जसले जे उद्देश्यका हल्ला चलायो त्यसैका पछाडि बहकिने क्रम बढ्दै गएको बताउँदै महासचिव पोखरेलले भने, ‘अस्थिरतामा रमाउने जुन संस्कृति हुर्किएको छ, त्यो अत्यन्त दुःखद छ ।’
जबसम्म नेपाली कांग्रेस र नेकपा (एमाले) दुईवटा पार्टी मिल्छन् तबसम्म सरकार केही हुँदैन भन्ने यथार्थलाई समेत बेवास्ता गर्दै सरकार ढल्ने हल्ला चलाउने गरिएको बताए ।
Advertisement
महासचिव पोखरेलले भने, ‘जति अस्थिरताका कुरा हुन्छन् त्यति नै सुशासन कमजोर बनाउन मद्दत पुग्छ र विकासका काम अवरुद्ध हुन्छन् । एक प्रकारले भन्ने हो भने राष्ट्र कमजोर हुने गर्दछ, त्यस कारणले यसबाट राष्ट्रलाई जोगाउनु पर्दछ ।’
नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्तिलाई लिएर सरकार ढल्छ भनि चलाइएको हल्ला गभर्नर नियुक्तिसँगै केही दिनको लागि शान्त हुने र एक/दुई दिनपछि नयाँ विषय निकालेर सरकार ढल्ने हल्ला चलाइने उनले स्पष्ट पारे ।
Advertisement
महासचिव पोखरेलले अस्थिरतामा रमाउने मानसिकताले स्थायित्व कायम हुँदा छटपटी हुने मानसिकता विकास भएको बताए ।
दुईवटा पार्टी मिलेर सरकार बन्दा कुनै एउटा पार्टीको नीति अनुसार मात्र सरकार नचल्ने हुँदा छलफल गरेर सहमति गर्दै अघि बढ्नुपर्ने र अहिलेको सरकार त्यसै गरी अघि बढेको उनले स्पष्ट पारे ।
अस्थिरताको फाइदा उठाएर ठूला पार्टीमाथि साना पार्टीको विगतमा गरेको राज अहिले रोकिएकाले तिनीहरू नै अहिले एमालेका विरुद्ध प्रहारमा लागेको महासचिव पोखरेलले बताए ।
Advertisement
सत्तामा साझेदारी र भागेदारी टुटेपछि माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता साना पार्टीहरू एमाले र एमाले नेतृत्व विरुद्ध सङ्गठित रूपमा आक्रमणमा जुटेका उनले बताए । उनले आफ्नै कर्मको परिणाम स्वरूप रास्वपा सभापति हिरासतमा पुगेपछि एमालेविरुद्ध खनिएको बताए ।
देशको सबैभन्दा बढी देशभक्त पार्टी एमाले भएको कारण चुनावमा राप्रपा एमालेसँग सहकार्य गर्न आइपुगेको तर अहिले एमाले रहँदासम्म राजसंस्था फर्काउन सकिँदैन भन्ने निष्कर्षमा पुगेको कारण एमालेविरुद्धको आक्रमणमा उत्रिएको महासचिव पोखरेलले स्पष्ट पारे ।
राष्ट्र निर्माणको सबैभन्दा बलियो र ठूलो शक्ति एमाले भएको बताउँदै एमालेले गरेको काम देख्नुपर्ने उनले बताए । गरेका काम देख्दा मात्र थप काम गर्ने जाँगर र उत्साह बढ्ने बताउँदै महासचिव पोखरेलले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले धेरै प्रशंसायोग्य काम गरेको सुनाए ।
सकारात्मक कामको सकारात्मक चर्चा परिचर्चा गर्दा विकासको लागि काम गर्नेलाई प्रोत्साहित गर्ने भनाइ उनले राखे । अहिलेको सरकारले राजनीतिक स्थायित्वको आधार तयार गरेको बताउँदै २०८४ को निर्वाचन सम्म अहिलेको गठबन्धन जाने महासचिव पोखरेलले प्रष्ट परे । तर पनि अस्थिरताका हल्ला भने चलाइरहने र चलिरहने उनले बताए ।
सरकार सही बाटोमा अघि बढेको र दुई ठूला पार्टी मिलेका कारण कानुन निर्माण र विकासका काम विश्वासका साथ अघि बढेको उनले बताए । कानुन निर्माण, कानुन सुधार, संरचनागत सुधार, सुशासन लगायतका क्षेत्रमा सरकार अघि बढेको महासचिव पोखरेलले बताए ।
टिप्पणीहरू