१५ चैत्र, दाङ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका सन्देशलाई विश्वभर प्रचार–प्रसार गरी शान्तिदूतको भूमिका निर्वाह गर्न सकिने बताएकी छन् ।
लुम्बिनीमा शुक्रबार थुक्छे छोईलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास गर्दै पूर्व राष्ट्रपति भण्डारीले बुद्धका शान्ति, करुणा, र शिक्षाको महत्त्व आजको समयमा झनै बढेको उल्लेख गरिन ।
Advertisement
‘गौतम बुद्धले अहिंसा, करुणा, र शान्तिको मार्ग देखाउनुभयो । उहाँका शिक्षाले संसारभर करोडौं मानिसलाई प्रेरित गरेका छन् । तर, आज पनि कतिपय विकसित र शक्तिशाली देशहरूबीचको होडबाजीका कारण सर्वसाधारण नागरिक गोलाबारीको सिकार बन्नुपरेको, हिंसाको डर र त्रासमा बाँच्नुपर्ने अवस्था छ’ उनले भनिन्, ’त्यसैले बुद्धका शान्ति, करुणा, र शिक्षाको सान्दर्भिकता आजको दिनमा झन् बढेको छ ।’
लुम्बिनी बौद्ध दर्शनको उद्गम स्थल भएको उल्लेख गर्दै उनले बौद्ध शिक्षा तथा दर्शनलाई अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखिन । बुद्धका उपदेशहरू विश्वभर फैलाउने माध्यमका रूपमा लुम्बिनीको महत्त्वपूर्ण भूमिका रहने बताउँदै उनले बौद्ध सम्पदाको संरक्षण र प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइन ।
टिप्पणीहरू