८ माघ, बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–२, राजपुरका किसानहरु जंगली जनावरको आतंकले आर्थिक र मानसिक दुवै समस्या झेलिरहेका छन् । बाघ, बाँदर, निलगाई र बँदेलका कारण किसानका बाली र पशुचौपायामा ठूलो क्षति पुगेको छ तर समस्या समाधानका लागि प्रभावकारी पहल हुन नसकेको उनीहरूको गुनासो छ ।
स्थानीय खडक बहादुर ओली भन्नुहुन्छ, “बाघले खोरबाटै बाख्रा तानेर लग्छ । समस्या लिएर गाउँपालिका र राष्ट्रिय निकुञ्जमा गयो भने कसैले सुन्दैन । ‘उषा सुनारको अनुभव अझै मार्मिक छ, उनले भनिन्, ‘मेरो बाख्रा खाइदिएको तीन वर्ष भयो । राहतका लागि निवेदन दिन निकुञ्ज जाँदा स्थायी लेखा नम्बर मागिन्छ । यस्तो झन्झटिलो प्रक्रियामा को जाने ?’
Advertisement
यस्तै, रामबहादुर रोकायले बाघले गाईका बाच्छा खाए पनि राहत लिने प्रक्रियाको झन्झट सुनेर निवेदन नै नदिएको बताए ।
वनशक्ति सामुदायिक वन उपभोक्ता समितिकी सचिव शान्ति चन्दले भने, ‘क्षतिको राहत र बीमाबारे समुदायलाई जानकारी नै छैन । यसले समस्या अझै बढाएको छ ।’ लोकबहादुर विश्वकर्माले निकुञ्ज र स्थानीय निकाय बीच समन्वयको अभावले राहत प्रक्रिया झन् कठिन बनेको गुनासो गरे ।
Advertisement
राजपुरका किसानहरूमाझ वन्यजन्तुबाट हुने क्षतिबाट समुदायले भोग्नुपरेको समस्याबारे छलफल गर्न र क्षतिपूर्ति प्राप्तिका उपाय खोज्न सोमबार आयोजित ‘गोलघर सम्वाद’ कार्यक्रमका सहभागिले यस्तो गुनासो गरेका हुन् ।
यो कार्यक्रम युएसएडको सहयोग र द एसिया फाउन्डेशन मु्ख्य कार्यान्वयन संस्था रहेको युएसएड नागरिक समाज तथा सञ्चार कार्यक्रमको साझेदारीमा नेपालगञ्ज स्थित समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन) मार्फत् संचालित ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सीमान्तकृत समुदायको सबलीकरण अभियान’ अन्तर्गत गरिएको हो ।
Advertisement
कार्यक्रमको सहजीकरण गर्दै सहजकर्ता प्रकाश उपाध्यायले वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका २०८० र बीमा प्रक्रियाबारे जानकारी गराउँदै सामूहिक प्रयासमा जोड दिए ।
वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनिकरण र क्षतिपूर्ति प्राप्तिका लागि सबै पक्षबीच साझा समन्वय बढाउन अभियान सुरु गरिएको सीसीएनका कार्यकारी निर्देशक तुला अधिकारीले बताउनुभयो । कार्यक्रममा ५७ जनाको सहभागीता रहेको थियो ।
Advertisement
यो अभियान बर्दियाको मधुवन नगरपालिकाको वडा नम्बर २ र बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ मा सञ्चालित छ । संवाद कार्यक्रमको रेडियो तथा भिडियो प्रसारण समेत गरिने सीसीएनले जनाएको छ ।
टिप्पणीहरू