Close sidebar
  • ताजा
  • लोकप्रिय
  • मानव–वन्यजन्तु द्वन्द्वका चुनौतीः क्लब चौतारीमा युवाहरुको आवाज र समाधानको खोजी

    १३ पुष, बाँके । बाँदर, बाघ, स्याल, र सुगाजस्ता वन्यजन्तुले ग्रामीण क्षेत्रका समुदायमा दिनदिनै समस्या सिर्जना गरिरहेका छन् । यी वन्यजन्तुहरूले घरभित्रको अन्नदेखि खेतबारीमा लगाइएको बालीसम्म सखाप पारेका घटनाले गरिब किसानको जीविकोपार्जन कठिन बनेको छ ।

    बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २, कचनापुरमा वातावरणीय न्याय र जवाफदेहिताका लागि क्लब चौतारी कार्यक्रमका सहभागीहरुले आफ्ना अनुभव र समस्याहरु बारे गहिरो छलफल गरे ।

    Advertisement

    कार्यक्रममा बोल्दै जय दूर्गा यूवा क्लबका सदस्य विनोद मल्लले भने, ‘जंगलबाट आउने बाँदरको बथानले दिनदिनै घरभित्रका अन्न र पकाइएका खानेकुरा नष्ट गर्छ । बाँदर धपाउनका लागि सधैं कोही न कोही घरमै बस्नुपर्ने बाध्यता छ ।’

    अर्की सहभागी संगीता कुमारी थारुले आफ्नो पीडा व्यक्त गर्दै भनिन्, ‘पहिले हाम्रो घरमा कुखुरा पाल्थ्यौं, तर स्यालले खोरबाटै कुखुरा तानेर लग्ने भएपछि अहिले पाल्नै छोडेका छौं ।’

    Advertisement

    यस्तै, प्रकाश थारुले गाउँमा सुगाको आक्रामक गतिविधिले किसानलाई खेती गर्नसमेत निराश बनाएको बताए । उनले भने, ‘सुगाको बथानले मकै, तोरी र धानजस्ता अन्नबाली सखाप पार्छ । राहतका लागि बुझ्दा केही पाइँदैन । यसले गरिब किसानको जीवन झनै कठिन बनाएको छ ।’

    सहभागी कपील चौधरीले क्षतिको राहत प्रक्रियामा आउने समस्याबारे भने, ‘बाघले लगेको जनावरको फोटो प्रमाण मागिन्छ, जुन उपलब्ध गराउन असम्भव छ । राहतको प्रक्रिया झन्झटिलो भएकाले किसानहरुले निवेदन दिन मान्दैनन् ।’

    Advertisement

    सहभागी मनकामना थारुले आफ्नो कुरा राख्दै राहत प्रक्रियाका लागि आवश्यक कागजात र कार्यालय धाउँदा खर्चिलो हुने समस्यामाथि ध्यानाकर्षण गराइन् ।

    उनले भनिन्, ‘कागजात जुटाउन र कार्यालय जान जति खर्च हुन्छ, राहतको रकमले त्यसलाई पनि धान्न सक्दैन । यसले गर्दा पीडित परिवारहरुले राहतका लागि निवेदन दिनसमेत छोडेका छन् ।’

    Advertisement

    क्लब चौतारी कार्यक्रमले युवाहरुलाई आफ्ना अधिकार र चुनौतीबारे सचेत बनाउँदै समाधानका उपायहरु खोज्न प्रेरित गर्‍यो । सहभागीहरुले राहत प्रक्रिया सरल बनाउनुपर्ने र स्थानीय निकायले प्रत्यक्ष निरीक्षणको आधारमा राहत दिनुपर्ने सुझाव दिए ।

    कार्यक्रममा उठेका मुद्दाहरुलाई समेट्दै सहजकर्ता प्रकाश उपाध्यायले भने, ‘यस कार्यक्रमले युवाहरुलाई समस्या समाधानका लागि नेतृत्वदायी भूमिका खेल्न उत्प्रेरित गरेको छ ।’

    सामूहिक प्रयास र दीर्घकालीन समाधानको पहलले वन्यजन्तु प्रभावित समुदायलाई सहयोग गर्ने आशा गरिएको छ । युएसएडको सहयोग र द एसिया फाउन्डेशन मु्‌ख्य कार्यान्वयन संस्था रहेको युएसएड नागरिक समाज तथा सञ्चार कार्यक्रम अन्तर्गत ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सीमान्तकृत समुदायको सबलीकरण अभियान’ को गतिविधीका रुपमा क्लब चौतारी गरिएको समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन)ले जनाएको छ ।

    कार्यक्रममा २६ जनाको सहभागीता रहेको थियो । यो अभियान बर्दियाको मधुवन नगरपालिकाको वडा नम्बर २ र बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ मा सञ्चालित छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »