१ कात्तिक, काठमाडौँ । आसन्न मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारी दिने राजनीतिक दलले महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।
गत २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हाली रहेको स्थानीय तहमा रिक्त रहेको पदमा उम्मेदवारी दिने राजनीतिक दलले महिला उमेम्दवार रहने गरी मनोनयन पत्र पेश गर्न निर्देशन दिइएको सहसचिव एवं प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी गराए ।
Advertisement
उनका अनुसार उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम निर्देशन दिएको हो ।
निर्वाचन आयोगको असोज ३० गते बसेको बैठकले निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारबाट मंसिर १६ गते आइतबारका दिन सम्पन्न हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनमा रिक्त रहेका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख पदमा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ को उपदफा (४) बमोजिम उम्मेदवारको मनोनयन पत्र पेश गर्दा यसो गर्नु पर्ने निर्देशन दिइएको छ ।
टिप्पणीहरू