२७ असोज, काठमाडौँ । विश्वका ३७ देशका सेनालाई पछि पार्दै यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’मा नेपाली सेनाले स्वणर्पदक प्राप्त गरेको छ ।
संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा यही असोज २३ गतेदेखि २५ गतेसम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले स्वणर्पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
Advertisement
संयुक्त अधिराज्य बेलायतसहित ३७ राष्ट्रका एक सय २१ अन्तर्राष्ट्रिय टोलीको त्यस अभ्यासमा सहभागिता थियो । सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको त्यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आएको छ ।
२ दिनभित्र हतियारसहित करिब ५० पाउन्ड तौल बराबरका बन्दोबस्ती सामग्रीसहित ५० किलोमिटर दूरीको अभ्यासमा सहभागी टोलीले गरेको लडाइ तयारी, खबर सङ्कलन तथा घाइते-बिरामीको व्यवस्थापनलगायतका दक्षता परीक्षणका आधारमा मूल्यांकन हुने निर्देशनालयले जनाएको छ ।
Advertisement
नेपाली सेनाले सन् २०१७ र २०१९ मा समेत त्यस प्रतियोगितामा स्वणर्पदक प्राप्त गरेको थियो । यस वर्ष त्यस प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा उपरथी दीपककुमार बानियाँ सम्मानित अतिथिका रूपमा सहभागी थिए ।
टिप्पणीहरू