२५ असोज, काठमाडौँ । बडादशैँको आठौँ दिन आज देशभर माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ ।
आजको दिन दशैँघर र कोत लगायत विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने चलन छ ।
Advertisement
आज दसैँघर तथा जमरा कोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नुका साथै फलामबाट बनाइएका हातहतियार र सवारीसाधनलाई सफासुग्घर गरी बलिसहित पूजा गर्ने प्रचलन छ ।
पशुबलि नचढाउनेहरू आजको दिन जमराकोठामा घिरौला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन् ।
बडादसैँको आठौँ दिन माता पार्वतीको रूप मानिने महागौरीको विशेष पूजा गरिन्छ । पौणाणिक कथाअनुसार उनले भगवान् शिवलाई पतिका रूपमा पाउन कठोर तपस्या गरेकी थिइन् ।
Advertisement
त्यस कारण उनको रङ धेरै कालो भएको र भगवान् शिवले गंगाजल छर्किएर फेरि गोरो बनाएकाले उनलाई महागौरी भनिएको शास्त्रहरूमा उल्लेख छ ।
यस्तै, यस वर्ष तिथिअनुसार महाअष्टमी र महानवमी पर्व एकै दिन परेकाले नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको पनि पूजा गरिँदै छ ।
आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ ।
Advertisement
महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर, कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।
मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई मारेको (वध) ले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।
Advertisement
नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दसैँ घरमा आज नवदुर्गा मध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ ।
टिप्पणीहरू