Close sidebar
  • ताजा
  • लोकप्रिय
  • दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको १२ औं सम्मेलन सुरु

    १९ भदौ, काठमाडौँ । निर्वाचन आयोग नेपालको आयोजनामा दक्षिण एसियाली मुलुक(FEMBoSA) को निर्वाचन निकायहरुको साझा मञ्चको १२ औं सम्मेलन काठमाडौंमा सुरु भएको छ ।

    प्रधानमन्त्री एवं एमाले अध्यक्ष के.पी. शर्मा ओलीले आज १२ औं सम्मेलन समुद्घाटन गरेका हुन । भदौ १९ र २० गते हुने उक्त कार्यक्रममा दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चका सदस्य राष्ट्रहरु नेपाल, भारत, भुटान, श्रीलंका र माल्दिभ्सका निर्वाचन व्यवस्थापन निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।

    Advertisement

    सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री ओलीले दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको १२ औं सम्मेलनको शुभकामना व्यक्त गर्दै सदस्य राष्ट्रहरुले स्वच्छ, स्वतन्त्र, पारदर्शी र विश्वसनीय निर्वाचनका लागि गरेका प्रयासहरु, सम्मेलनका विषयवस्तु र आगामी दिनमा निर्वाचन व्यवस्थापन गर्ने निकायहरुले लिनु पर्ने सुधारका रणनीतिबारे धारणा व्यक्त गरेका थिए ।

    यस अवसरमा प्रधानमन्त्री ओलीले दक्षिण एसियामा लोकतन्त्रका लागि राजनीतिक नेतृत्वले पुर्‍याएको योगदानको स्मरण गरेका थिए ।

    Advertisement

    निर्वाचन आयोग नेपालका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले उद्घाटन सत्रमा सहभागीहरुलाई स्वागत गर्दै दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको १२ औं सम्मेलन नेपालले आयोजना गर्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गरेका थिए ।

    भुटानका प्रमुख निर्वाचन आयुक्त एवम् दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चका हालका अध्यक्ष समेत रहेका दासो सोनाम तोग्बेको अध्यक्षता, प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा निर्वाचन आयोग नेपालका प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयोग माल्दिभ्सका अध्यक्ष, निर्वाचन आयोग श्रीलंकाका अध्यक्ष र निर्वाचन आयोग भारतका उपनिर्वाचन आयुक्तले शुभारम्भ मन्तव्य दिँदै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन सदस्य राष्ट्रहरुले निर्वाह गर्नुपर्ने भूमिका र व्यवस्थापन गर्नुपर्ने निर्वाचनका नविनतम मुद्दाहरुका सम्बन्धमा धारणा व्यक्त गरेका थिए ।

    Advertisement

    भुटानका प्रमुख निर्वाचन आयुक्त दासो सोनाम तोग्बेले ११ औं सम्मेलन कोभिड-१९ को महामारीका कारण भर्चुअल रुपमा सम्पन्न भएको स्मरण गर्दै दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको अध्यक्षता नेपाललाई हस्तान्तरण गरेका थिए । दक्षिण एसियाली मुलुकका निर्वाचन व्यवस्थापन निकायको १३ औं सम्मेलन नभएसम्म यसको अध्यक्षता निर्वाचन आयोग नेपालले गर्ने आयोगका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद सापकोटाले बताए ।

    यस सम्मेलनमा निर्वाचन र जलवायु परिवर्तन, निर्वाचन र आप्रवासन तथा निर्वाचन र सामाजिक सञ्जालको मुद्दामा विज्ञको प्रस्तुति एवम् छलफल समेत रहनेछ । उक्त छलफल निर्वाचन व्यवस्थापनका लागि आगामी दिनमा गर्नु पर्ने सुधारका पक्षहरुमा केन्द्रित रहने छ । दुईदिने यस सम्मेलनमा काठमाडौं घोषणापत्र समेत जारी गरिने कार्यतालिका रहेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »