३० चैत्र, उदयपुर । उदपुरको कटारी नगरपालिका-१० स्थितमा रहेको प्रहरी चौकी सोरुङछविसेको नव निर्मित भवनको समुदघाटन भएको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङको प्रमुख आतिथ्यता तथा कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठको अध्यक्षतामा नव निर्मित प्रहरी चौकीको समुदघाटन भएको हो ।
Advertisement
नवनिर्मित भवनहरुको उद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले नयाँ भवनको निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सम्पूणर्मा धन्यवाद व्यक्त गर्दै नयाँ भवनबाट पाउने प्रहरी सेवाको आशा जनतामा पनि बढ्ने भएकोले प्रहरीले प्रदान गर्ने सेवाको गुणस्तरीयतालाई अझ प्रभावकारी बनाउनु पर्नेमा बताए ।
उनले २४ सै घण्टा ड्युटीमा खटिनु पर्ने प्रहरी कर्मचारीहरुलाई नयाँ भौतिक सुबिधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना गर्ने बताए । उनले भने, ‘प्रहरीलाई सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै थप जोस र उर्जाका साथ काम कारवाहीलाई अगाडि बढाउने म विश्वस्त छु ।’
साथै सुरक्षा, जनता र प्रहरीको संयुक्त जिम्मेवारी भएकाले अपराध नियन्त्रण कार्यमा प्रहरीलाई सहयोग गर्न उनले अनुरोध समेत गरेका छन ।
Advertisement
कार्यक्रममा प्रमुख अतिथि खापुङले भवन निर्माण कार्यमा उल्लेखनिय योगदान पुर्याउने महानुभावहरुलाई प्रशंसा पत्रले सम्मान गरेका थिए ।
उक्त प्रहरी चौकी कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको १ करोड ६४ लाख ७३ हजार रुपैयाको लागतमा शहरी विकाश तथा भवन निर्माण कार्यालयले निर्माण सम्पन्न गरेको थियो ।
Advertisement
उदघाटन कार्यक्रममा उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु तथा प्रहरी अधिकृतहरु, स्थानिय जनप्रतिनिधिहरु, बिभिन्न कार्यालय, संघ संस्थाका प्रमुख, स्थानिय समाजसेवी, बुद्धिजिवि तथा स्थानियवासीहरुको उपस्थिति रहेको थियो ।
टिप्पणीहरू