११ माघ, काठमाडौँ । राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हुँदैछ । राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने २० मध्ये १९ सिटका लागि आज मतदान हुन लागेको हो । एक पदमा भने राष्ट्रपतिबाट मनोनयन हुनेछ ।
मतदान बिहान ९ देखि सुरु भएको छ भने दिउँसो ३ बजेसम्म हुनेछ । मतदानका लागि सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र तोकिएको छ । आयोगका अनुसार १९ सिटका लागि आठ वटा राजनीतिक दलका तर्फबाट ५१ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन ।
Advertisement
निर्वाचनमा सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले गठबन्धन गरेका छन भने एमाले र राप्रपाको छुट्टै सहकार्य छ । अन्य दल एक्लाएक्लै प्रतिस्पर्धामा छन ।
निर्वाचनमा प्रदेशसभा सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको निर्वाचन चिह्न सहितको र पालिकाका प्रमुख र उपप्रमुखहरूका लागि सेतो रङको कागजमा रातो रङको निर्वाचन चिह्न रहेको मतपत्र छ ।
Advertisement
निर्वाचनमा प्रदेशसभाका ५४९ र पालिका प्रमुख–उपप्रमुख एकहजार ४९८ गरी जम्मा २ हजार ४७ मतदाता रहेको आयोगले जानकारी दिएको छ ।
एक प्रदेश सांसद बराबर ५३ र पालिकाको एक जनप्रतिनिधि बराबर १९ मतभार रहेको छ । जसको कुल मतभार ५७ हजार ५५९ रहेको छ ।
Advertisement
आयोगका अनुसार कोशी प्रदेशमा १० हजार एक सय ३५, मधेशमा १० हजार सात सय ४४, बागमतीमा १० हजार तीन सय ३३, गण्डकीमा ६ हजार चार सय १०, लुम्बिनीमा आठ हजार सात सय ५३, कर्णालीमा पाँच हजार ८४ र सुदूरपश्चिममा ६ हजार एक सय मतभार रहेको छ ।
२०७४ साल माघमा निर्वाचित भएर गोलाप्रथाबाट ६ वर्षे कार्यकाल प्राप्त गरेका सांसदको पदावधि फागुन २० गतेबाट सकिन लागेकाले रिक्त हुने उक्त स्थानमा आज मतदान हुन लागेको हो ।
टिप्पणीहरू