१३ पौष, काठमाडौँ । काठमाडौँको कालिकास्थान स्थित सर्वनाम थिएटरमा नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ मञ्चन भइरहेको छ । साहित्यकार तथा रङ्गकर्मी अशेष मल्लको लेखन रहेको नाटक सर्वनामको १९ औँ ब्याचका विद्यार्थीले प्रस्तुत गरेका हुन । ब्याचका प्रशिक्षार्थीहरू रसिक राज र शीतल थोकरको निर्देशन रहेको छ । रङ्गमञ्चमा समूहको यो पहिलो नाट्य यात्रा हो ।
महिला तथा बालबालिकामा हुने हिंसाको विषयमा केन्द्रित रहेको नाटकले आँखै अगाडी हिंसा हुँदा पनि चुपचाप रहने समाजको प्रवृत्तिमाथि व्यङ्ग्य गरेको छ । मिथकीय पात्र गोमालाई प्रतिनिधि पात्रका रूपमा उतारेर समाजमा अनगिनत महिला तथा बालबालिका हिंसाको सिकार बन्नु परेको तितो सत्यबारे नाटक बोलेको छ । कथाको लयसँग दृश्यहरूमा अभिनयमा निकै बलियो रूपमा उपस्थिति जनाएको छ। अभिनय, बिम्ब, प्रयुक्त प्रप्स, प्रकाश, चित्रकला र सङ्गीतको निकै सशक्त प्रस्तुति देख्न सकिन्छ ।
Advertisement
नाटकभित्र मिथक र समकालीन समयको संयोजन छ । श्री स्वस्थानी व्रत कथामा सात वर्षिया गोमाको विवाह ७० वर्षीय वृद्धसँग भएको प्रसङ्गलाई लिएर आजको समय सँग यसको लेखाजोखा गरिएको छ । वर्तमानलाई मिथक सँग जोडिरहन सूत्रधार (रसिक राज) मार्फत गरिएको संवादले दर्शक दुवै समयप्रति सचेत बनिरहन्छन् । ‘गोमा कहाँ छिन ?’ भनेर प्रश्न गर्दै गर्दा गोमालाई इङ्गित गदै आम दर्शकतिर गरिएको इशाराले सिङ्गो समाजलाई प्रतिनिधित्व गरिएको छ ।
नाटक हेरेर सामाजिक सञ्जालमा मिसन अधिकारी लेख्छन, ‘यो नाटकले गम्भीर दर्शकको माग गर्दछ १ नाटक हेरिरहँदा कतै ऐनामा आफ्नै अनुहार त आउँदैन भन्ने भय दर्शकमा पैदा हुन्छ । मनोरञ्जनको लागि मात्र नभएर आफ्नै परिवार, आफ्नै समाजको अँध्यारो पक्षसित परिचित हुन नाटकले अपिल गर्छ । आफैँसित संवाद गर्नलाई हेर्ने हो यो नाटक ।‘
Advertisement
नाटक हेरेपछि दर्शक सरल विक्रम शाह भन्छन्, यो नाटकले म स्वयमनै यो नाटकको पात्र हुँ भन्ने महसुस गराउँछ । पात्रहरूको परिचय गराउने तरिका निकै नवीन छ । गोमा पात्र अचानक दर्शकहरूबाट उठ्दा निकै तरङ्गित महसुस हुन्छ । नाटकले आफूलाई कोट्याउन बाध्य पार्छ ।
नाटकमा सान्सिक प्रोडक्सनको सङ्गीत, निर्मला घिसिङको स्वर, एलिसा तामाङको कोरियोग्राफी र मनोज भण्डारी, सुरज, रसिक तथा शीतलको गीत रहेको छ ।
पौष ८ गतेबाट मञ्चन भइरहेको नाटकले दर्शकहरूबाट समेत राम्रो साथ पाइरहेको छ । नाटकमा रसिक राज, शीतल थोकर, सुरज पराजुली, आकाश झा, वाइ।एस पौडेल, बिल बहादुर वि।क, सुरज अधिकारी, सरस्वती दाहाल, आरुष जंग सारू मगर, शू गूँ, एलिसा तामाङ, युनिशा खनाल र विवेक भुसालको अभिनय रहेको छ ।
Advertisement
नाटकले अन्याय विरुद्ध गर्जिनुपर्छ र स्वअस्तित्वको लडाइँ लड्नुपर्छ भन्ने सन्देश छोडेको छ । चित्रकला, गीत सङ्गीत र नृत्यको कुशल संयोजन रहेको नाटक पौष १५ गतेसम्म बिहीबार बाहेक हरेक साँझ ५ बजे र शनिवार दिउँसो १ बजे पनि मञ्चन हुनेछ ।
टिप्पणीहरू