पुष्कर खड्का
१ पौष, रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकाको एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लिखु तामाकोसी गाउँपालिका वडा नं -२ का २६ वर्षीय पोसाक सुनुवार रहेका छन ।
सुनुवारले वैदेशिक रोजगारीका निम्ति माल्टा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार बेलुका उनलाई काठमाडौंकै महैपीबाट पक्राउ गरेको हो ।
Advertisement
प्रहरी अनुसार उनले टेकबहादुर गुरुङलाई वैदेशिक रोजगारीका निम्ति माल्टा पठाइदिने बताएका थिए । त्यसका निम्ति प्रति व्यक्ति नौ लाख ५० हजार रुपैयाँ लाग्ने भनेका थिए । माल्टा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक एक लाख रुपैयाँ तलब हुने भन्दै प्रलोभनमा पारी ठगी गरेको खुलेको सो कार्यालयका सूचना अधिकारी एवं एसपी मिलन केसीले जानकारी दिए ।
प्रहरीका अनुसार ‘पीडित’बाट पटक-पटक गरी तीन लाख ३० हजार रुपैयाँ लिई उनी सम्पर्क विहीन भएका थिए । सुनुवारलाई थप अनुसन्धान र कारबाहीका निम्ति वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू