१० कार्तिक, बाँके । आफुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी रहेको बताउदै ठगी गर्ने एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
विगत केही समयदेखि बाँकेका विभिन्न सरकारी कार्यालय तथा संघसंस्थाहरुमा आफुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी रहेको जनाउदै सुविधा लिने गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
Advertisement
उक्त सूचना प्राप्त हुनसाथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वुटवल, सम्पर्क कार्यालय नेपालगञ्ज तथा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले चितवनको भरतपुर महानगरपालिका वडा नं. १२ घर भई हाल नेपालगञ्ज उप-महानगरपालिका वडा नं.२० राँझा स्थित डेरा कोठा लिई वस्ने ३७ वर्षिय मोहन कोईरालालाई निगरानी गर्ने क्रममा नियन्त्रणमा लिएको सूचना अधिकारी एवं प्रहरी नायब उपरीषक नारायण डाँगीले जानकारी गराए ।
कोइरालालाई सोधपुछ गर्ने क्रममा उनले आयोग तथा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी कर्मचारीलाई गाली गलौज गरि काम कारबाहीमा अवरोध गरेको हुदाँ नियन्त्रणमा लिएको सूचना अधिकारी डाँगीले बताए । उनका अनुसार कोइराला माथि आवश्यक अनुसन्धान भइरहेको छ ।
Advertisement
‘कोइरालाबाट कोहि ठगिएको भए वा निजले कोही कसैलाई भ्रममा पारी झुट्टा आश्वासन दिई लाभ लिएको भए जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन अनुरोध गरिएको छ,’ डिएसपी डाँगीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
टिप्पणीहरू