१३ चैत, सुर्खेत । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले देश कहाली लाग्दो आर्थिक समस्यामा फस्दै गएको तर अहिलेको सरकारले त्यसको कुनै प्रवाह नगरेको बताएका छन ।
सुदूरपश्चिम प्रदेशको अछाम जानेक्रममा आइतबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा पौडेलले यस्तो बताएका हुन । उनले वर्तमान सरकार देशका समस्या समाधान भन्दा पद बाँडफाँटमा केन्द्रित रहेको बताए ।
Advertisement
उनले देश कल्पनाभन्दा बाहिरको आर्थिक समस्यामा फस्दै गए पनि सरकारले त्यसबारेमा केही पनि नसोचेको जिकिर गरे । हालसम्म पनि अर्थमन्त्री नियुक्त नगर्नुले सरकार त्यसबारे गम्भीर नभएको पुष्टि भएको पौडेलले दावी गरे ।
यस्तै विश्वासको मत पाएको एकसाता वितिसक्दा पनि गठबन्धनले मन्त्रीमण्डल विस्तार नगरेर तमासा गरिरहेको बताए । उनले अहिलेको प्रतिनिधिसभाबाट राजनीतिक स्थायित्व कायम नहुने स्पष्ट देखिएको पनि बताए । राजनीतिक स्थायित्व र विकासका लागि आगामी निर्वाचनबाट एमालेले एकल बहुमत प्राप्त गर्नुपर्छ भन्ने बुझाइका साथ आफूहरू पार्टीका गतिविधिमा केन्द्रित भएको पौडेलले बताए ।
टिप्पणीहरू